काठमाडौं। नागरिकता विहीन नागरिक संघर्ष समिति वीरगंजले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तस्वीर जलाएको छ।‘जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने तथा आमाको नामबाट नागरिकता दिनुपर्ने’ माग गर्दै वीरगंजमा विरोध प्रदर्शन गरेको थियो सोही क्रममा प्रदर्शनकारीले लामिछानेको तस्बीर जलाएका हुन्।
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको विरोधमा घण्टाघरमा जम्मा भएका संघर्ष समितिका युवाहरुको समूह नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्।
सोहि क्रममा उनिहरुले रबि लामिछानेले अमेरिका र नेपाल दुबैको नागरिकता, पासपोर्ट लिन पाउने तर हामी एउटा पनि नागरिकता लिन नपाउने ? हामी यस देशको नागरिक होइनौं ? भन्दै लामिछानेको तस्विर समेत जलाएका थिए।
सर्वोच्चको अल्पकालीन आदेशले आफुहरु थप पीडामा परेको नागरिकता विहीन नागरिक संघर्ष समिति वीरगंजका अध्यक्ष विवेक रौनियारको भनाई छ। राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशन भइसकको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पुर्वाग्रही रहेको उहाँको आरोप थियो।
रौनियारले सर्वोच्चको कदमलाई समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी ओली मधेस विरोधी भएको आरोप लगाउनु भयो। सर्वोच्चले आफ्नो पुर्वाग्रही फैसला तत्काल नसच्याए नागरिकता विहिन लाखौं युवायुवतीहरु अब आत्मदाहको स्थितिमा पुग्न बाध्य हुने आन्दोलनकारीहरुले चेतावनी समेत दिएका छन्।
सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेकाले नयाँ नागरिकता ऐन अनुसार सोमबारदेखि हुने भनिएको नागरिकता वितरण कार्य जिल्ला प्रशासन कार्यालय पर्साले रोकेको छ।