काठमाडौं । २०५८ साल जेठ १९ गते । अर्थात २२ वर्षअघि आजकै दिन तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको अकल्पनीय ‘दरवार हत्याकाण्ड’ आजका दिन सम्म आईपुग्दा पनि रहस्यमय नै छ। २०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।
‘दरवार हत्याकाण्ड’का रुपमा परिचित यो घटना भएको आज २२ वर्ष पूरा भएर २३ वर्ष लागेको छ। नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो।
घटनामा पूर्वराजा ज्ञानेन्द्र, पत्नि कोमल शाह,शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते हुनुभएको थियो। हत्याकाण्डको ग्राण्डडिजाइन कसले गरेको हो भन्नेबारे अझै रहस्यकै गर्भमा लुकेको छ। घटना घटेको २२ बर्षसम्म नेपालमा धेरै वटा सरकार बने ।
विभिन्न दलबाट वनेका प्रधानमन्त्रीले अनुसन्धान गरी निष्कर्षमा पर्याउने बताईरहेका हुन्छन्। तर घटनाबारे रहस्य कहि कतैबाट पत्ता लाग्न सकेको छैन। केहि दिन अघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पु¥याउने बताउनु भएको थियो। उहाँले दरबार हत्याकाण्डको अनुसन्धान गरी निचोडमा पुग्ने बताउनुभएको हो ।
२२ वर्ष बित्दासम्म पनि ‘दरवार हत्याकाण्ड’को तथ्य अझै बाहिर आउन सकेको छैन। हत्या काण्डपछि राजा ज्ञानेन्द्र झण्डै ४ बर्ष कार्यकारी अधिकारसहितको राजा बनेपनि उक्त घट्नाको सत्यतथ्य बाहिर नआएको भन्दै सर्वसाधारणले उहाँमाथि पनि औँला ठड्याउने गरेका छन्।
लेखक तथा राजनितिक विश्लेषक देव प्रकाश त्रिपाठी संसारभरका मानिसको जिज्ञासाको बिषय ‘दरवार हत्याकाण्ड’ बारे अनुसन्धानसहित जवाफ दिन नसक्नु राज्यको ठुलो कमजोरी हो भन्नुहुन्छ।‘दरवार हत्याकाण्ड’ का साक्षी र पिडित सवै जिवितै रहेको, आप्mनै आँखाले देखेका घटनाका साक्षीले दिपेन्द्रबाट गोलि चलेको कुरा भनिरहेका छन् भन्दै त्रिपाठीले राज्यले घटनावारे अनुसन्धान गरेर निष्कर्ष निकाल्न किन हिच्किचाएको हो भनि प्रश्न गर्नुभएको छ ।
घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास भने गरेका छैनन्। एक जनाले आफ्नो परिवारलाई मात्रै हत्या गरेका हुन, वा होइनन् भन्ने विषय अहिलेसम्म खोजीमै छ।
उक्त हत्याकाण्डबारे लेखक एवं उपन्यासकार कृष्ण अविरलले ‘रक्तकुण्ड’ नामक पुस्तक लेख्नुभएको थियो । नेपाली रेडियो नेटवर्कसंग कुरा गर्दै लेखक अविरल भन्नुहुन्छ, राजतन्त्र नै चिहानमा पुगेकाले अव हत्याकाण्डबारे कस्ले पो खोज अनुसन्धान गर्ला र ?
नेपालको इतिहासमा नै ठूलो महत्व राख्ने नरसंहार नेपाली सेनाको सुरक्षा घेरा भित्र रहेको राजदरबार भित्र भयो । घटनावारे तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेपछि अहिलेसम्म यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन ।
राजपरिवारमाथि कत्लेआम भएको उक्त घटना कसले घटायो भन्ने बारे अझै पनि विभिन्न दृष्टिकोणबाट हेर्न छोडिएको छैन । दरवार हत्याकाण्डबारे नेपाली जनतामा अहिले पनि ठुला शंकाहरु जिवितै छन् ।