काठमाडौं। रेशम चौधरीविरुद्धको मुद्दा हेर्न नभ्याइने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश आन्नदमोहन भट्टराईको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको चौधरीविरुद्धको मुद्दा आजका लागी हेर्न नभ्याइनेमा परेको हो ।
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारादा कठायत बोहोराले चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध मुद्दा दर्ता गरेकी हुन् ।
सर्वोच्चमा दर्ता भएको मुद्दा निवेदनमा नेपाल कानून, कानूनले तोकेको कार्यविधि, सर्वोच्च अदालतका विभिन्न मुद्दाहरुमा प्रतिपादित सिद्धान्तसमेत प्रतिकुल हुने गरी चौधरीको जन्मकैदको सजाय माफी दिने मन्त्रिपरिषद्को सिफारिस र सोही सिफारिसको आधारमा सजाय माफी दिने राष्ट्रपतिबाट भएको निर्णयविरुद्ध विपक्षीको नाममा परमादेश, प्रतिषोधलगायतका आदेश जारी गर्न माग गरिएको छ ।
टीकापुर घटनाका मुख्य योजनाकारका रुपमा चौधरीविरुद्ध जिल्ला र उच्चले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो। तर, जेलभित्रै रहेर राजनीतिक दल खोलेका चौधरीको पार्टीले गत निर्वाचनमा चार सीट जितेपछि उक्त दल अहिले सरकारमा रहेको छ।
चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था मन्त्री हुनुहुन्छ। सरकारले राजनीतिक सत्ता समीकरणको नाममा चौधरीलाई आममाफी दिएर सर्वोच्चको फैसलाको समेत अवज्ञा गरेको आरोप लागेको छ ।