काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले महिला अधिकार हनन गरेको आरोप लगाउनु भएको छ।
राष्ट्रिय महिला दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले स्थानीय निर्वाचन र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा संविधानको गलत व्याख्या गरेर महिलाको अधिकार खोसेको आरोप लगाउनुभयो।
उहाँले भन्नुभयो, “राष्ट्रपति र उपराष्ट्रपतिमा एउटा महिला हुनुपर्छ। तर, यसपटक गठबन्धनले जालझेल गर्यो। दुवै गठबन्धनले पाउँदा एउटा महिला दिन सकेन,” ओलीले थप्नुभयो, “स्थानीय तहमा प्रमुख र उपप्रमुखमा एउटा हुनुपर्नेमा विभिन्न दलको भनेर गठबन्धनले दुइटै पुरुष उठाएर महिला अधिकारको हनन गरेको छ ।”
अध्यक्ष ओलीले एमालेले भने महिला अधिकारको हनन नगरेको दाबी गर्दै महिला दिवसलाई ठूलो तिहारको संज्ञा दिनुभयो। उहाँले महिला दिवसलाई चाडको रूपमा धुमधामका साथ मनाउन पनि आग्रह गर्नुभयो ।