काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा चर्चामा रहेको गौतमबुद्ध क्रिकेट रंगशालालाई समेटिएको छैन।
धुर्मस सुन्तली फाउन्डेसनले निर्माण थालेर बीचमै अलपत्र छाडेको गौतमबुद्ध रंगशाला निर्माण सम्पन्न गर्नका लागि सरकारले स्वमित्व ग्रहण गर्ने घोषणा गरेको थियो। सरकारले यसै आबका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि गौतमबुद्ध रंगशाला समेटिएको थियो । तर, आज अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा भने यस रंगशालालाई समेटिएको छैन ।
अर्थमन्त्री महतले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका रुपमा विकास गरिने बताउनु भएको छ । उहाँले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम यसै वर्ष सम्पन्न गरिने बताउनु भयो। त्यस्तै उहाँले मुलपानी क्रिकेट मैदानको निर्माण कार्य सम्पन्न गरिने बताउनु भयो ।
साथै विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला, काठमाडौंको सुवर्णसमशेर क्रिकेट रंगशाला बनाउन बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताउनु भएको छ ।