काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पद धरापमा परेपनि पार्टी सुधारको अभियानमा होमिने उद्घोष गर्नुभएको छ। गणतन्त्र दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रमाई सम्बोधन गर्दै उहाँले पार्टी सुधारको काम गर्दा पद गए आफू साधारण सदस्य भएर बस्न पनि तयार रहेको बताउनु भयो।
“म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दैगर्दा महामन्त्री गए जाओस्,” महामन्त्री थापाले भन्नुभयो,“म कांग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे तयार छु ।”
उहाँले तत्कालको काम पार्टीका नेता कार्यकर्तालाई निराशाबाट बाहिर ल्याउनुपर्ने भन्दै त्यसका लागि सबैको साथ चाहिएको बताउनु भयो। महामन्त्री थापाले पार्टीभित्रको रोगविरुद्ध लड्न सबै एक जुट हुन आह्वान गर्दै पार्टी सुधार गरे कांग्रेसप्रतिको भरोसा नटुटने र नयाँ/पुराना दलले असर पनि नगर्ने उहाँको भनाइ छ।
उहाँले पार्टीभित्रको रोगको उपचार समयमा हुन नसक्दा भने त्यसले पार्टीलाई कमजोर पार्ने बताउनु भयो। त्यहीकारण पार्टीभित्रको रोग चाँडो निको पार्न सबै एकजुट हुनुपर्नेमा पनि जोड दिनु भयो ।