काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गणतन्त्रलाई सु–संस्कृत बनाउने जिम्मेवारी हामी सबैको काँधमा भएको बताउनुभएको छ ।
१६ औँ गणतन्त्र दिवसका अवसरमा यादवले नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता र कानूनी राज्यलाई अङ्गीकार गरेको बताउनुभयो ।
यसैका आधारमा नेपालको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, शासन र प्रशासनमा सिङ्गो मुलुकभित्रको बहुरूप र विविधता झल्किने प्रारूप एउटा साझा चौतारी र फूलबारी झैँ देख्न सकिरहेको सन्देशमा उल्लेख छ ।
उहाँले यसलाई थप परिष्कृत, सु–संस्कृत, मर्यादित, रूपान्तरित र व्यवस्थित गर्नुपर्ने कर्तव्य, दायित्व र जिम्मेवारी हामी सबैको काँधमा आइपरेको स्मरण गराउनुभयो । “विविधतामा एकता हाम्रो मौलिक राष्ट्रिय पहिचान हो ।
गणतन्त्र दिवसलाई सबैले देशको संविधानको सुरक्षासँगै गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशिता, समानता, समाजवाद तथा मुलुकको समरसता एवं शान्ति र विकासका लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनुपर्दछ”, उहाँले भन्नुभयो ।