काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकबाट भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताउनु भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै उहाँले भ्रष्टहरूलाई देशलाई नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताउनु भएको हो।
आज पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा उहाँले आफूमाथि जतिसुकै मुद्दा लगाए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्ध पार्टीको अभियान नरोकिने उल्लेख गर्नुभयो ।
नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको भन्दै उहाँले सो कामलाई पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई पनि शंका लागेको बताउनु भयो। सोही कारण संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नुपरेको उहाँको स्पष्टोक्ती छ ।