काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा(माओेवादी केन्द्र)नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा संघीयताविरोधी देखिएको बताउनु भएको छ।
आज जारी प्रतिनिधिसभा बैठकमा उहाँले नीति तथा कार्यक्रममा संघीयता शब्द तीनपटक मात्र उल्लेख गरिएको बताउनु भयो।
“७० पानाको नीति तथा कार्यक्रममा तीनपटक संघीयताको उल्लेख गरिएको छ। संघीयतालाई सबल गर्ने खालको ठोस नीति कार्यक्रम देखिएन। म आफैँ आश्चर्यचकित छु,”उहाँले भन्नुभयो,“माओवादी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयताविरोधी देखिएको छ। संघीयताको उच्चारण तीनपटक मात्र गरिएको छ।”
संघीयताको कार्यान्वयनमा ध्यान पुर्याउनुपर्ने आवश्यकता उहाँले औँल्याउनु भयो। बुँदा नम्बर ११ मा मधेस प्रदेशलाई प्राथमिकता दिइएकामा उहाँले खुसी समेत व्यक्त गर्नुभयो।