काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शून्य समयको नाम परिवर्तन गरेर ‘मन्त्रीले सुन्ने समय’ राख्न माग गर्नुभएको छ। आज जारी प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो।
शून्य समयमा उठाएका विषय प्रभावकारी हुन नसकेको उहाँको गुनासो छ। “शून्य समयलाई जिरो समयका रूपमा होइन, यसको नामकरण गरेर मन्त्रीले सुन्ने समय राखियोस्, नभए यो जिरो हुने भयो,” उहाँले भन्नुभयो।
सांसद खतिवडाले संसदीय सुनुवाइ समिति गठन गरेर प्रधानन्यायाधीश नियुक्त गर्न पनि माग गर्नुभएको छ। संवैधानिक परिषद्को सिफारिसपछि उक्त समितिमा प्रधानन्यायाधीशको सुनुवाइ हुने व्यवस्था छ। सुनुवाइपछि सिफारिस स्वीकृत भएमा नियुक्तिका लागि योग्य मानिन्छ।