काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बनिसकेको सरकार आफ्नो हातबाट कसरी फुत्कियो समीक्षा गर्न आग्रह गर्नुभएको छ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा नेपालले ओलीलाई लक्षित गर्दै यस्तो सुझाव दिनुभएको हो। उहाँले सबै एकजुट भए देश बनाउन सकिने भएकोले एकले अर्कालाई घोचपेच गर्न नहुने सुझाव दिनुभयो।
ओलीलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो,‘आफ्नो पीडा र व्यथा पोखेर मात्रै हुँदैन। सरकारमा बस्न सकिएन बेग्लै कुरा हो। किन बस्न सकिएन त्यसको पछाडि अरूलाई दोष दिएर हुँदैन। बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको लागि अरूलाई सत्तोसराप गरेर हुँदैन। त्यसैले आफूभित्र के कस्ता कमजोरी रहे सबैले समीक्षा गरौँ। कमीकमजोरी भएका भए त्यसलाई सुधार गरौँ।’
यस्तै नेपालले ओलीमा सबैभन्दा ठुलो समस्या व्यक्तिवाद रहेको गम्भिर आरोपसमेत लगाउनु भयो। उहाँले थप्नुभयो,‘दोस्रो भने आफूलाई सबैभन्दा सर्वज्ञानी ठान्ने प्रवृत्ति हो। तेस्रो,अरूलाई अवमूल्यन गर्ने प्रवृत्ति हो। यसबाट मुक्त हुनुपर्छ।’