काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमलाई नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो भएको संज्ञा दिनु भएको छ। सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उहाँले यो सरकारसँग जनताको समस्या समाधान गर्ने कुनै नीति नै नभएको बताउनु भयो ।
उहाँले यो सरकार जनताका लागि सबैभन्दा महँगो भएको आरोप लगाउनु भयो।ओलीले भन्नुभयो,‘देशको आर्थिक नीतिबारे सरकार बोलेको छैन। यो बजेट त नजान्ने विद्यार्थीले चिट चोरेजस्तो भयो। हामीले राखेको कार्यक्रम पनि राख्नुभएको रहेछ। यो राखेको होइन,चिट चोरीमा परेको हो। राजनीतिक अस्थिरता बढीरहेको छ। यसबारे उहाँहरूको कुनै चिन्ता छैन।’
ओलीले राजनीतिक अराजकता बढिरहेको बताउनुभयो। ‘आयातमुखी अर्थतन्त्र रोक्न सरकारले कुनै योजनानै छैन। बजेटमा शब्द जालमात्रै छ। उत्पादन र उत्पादकत्व वृद्धितर्फ सरकारको ध्यान नै पुगेको देखिँदैन,’ उहाँले भन्नुभयो ।
सरकारको नीति तथा कार्यक्रम गन्तव्यहीन भएकाले समर्थन गर्न नसकिने उहाँको भनाइ छ। ओलीले भन्नुभयो, ‘जंगली राजमा पनि जथाभाबी हुँदैन। तर यहाँ जथाभाबी भइरहेको छ। भ्रष्टाचारविरुद्व शून्य सहनशिलता भनिएको छ। मिटरव्याजी पीडित अनसनमा छन्। महँगी बढेको छ। त्यतातिर ध्यान दिइएको छैन। सरकार बेखबर छ। अनि सामाजिक न्यायका कुरा गर्ने?’