काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारतको भ्रमणको मिति तय भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भएको छ। त्यसको औपचारिक घोषणा भने हुन बाँकी छ।
प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारीका लागी दुवै देश तयारीमा जुटेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले दुवै देशको सहमतिमा चाँडै नै औपचारीक मिति घोषणा हुने बताउनु भयो ।
परराष्ट्र मन्त्री एनपी साउदले पूर्वपरराष्ट्र सचिव, पूर्वपरराष्ट्र मन्त्री,पूर्वराजदूतहरूसँग छलफल गरिसक्नु भएको छ।उनीहरूलाई मन्त्रालयमा नै बोलाएर बिहीबार र शुक्रबार मन्त्री साउदले छलफल गर्नुभएको थियो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पनि भारत भ्रमणको तयारीस्वरुप विभिन्न मन्त्रालयका एजेन्डाहरू मगाएर त्यसमा छलफल गरि सकिएको छ।
भारत भ्रमणको क्रममा जलविद्युत,दूरसञ्चार, शिक्षा, कृषि, स्वास्थ्य, पेट्रोलियम पाइपलाइनलगयातको विषयमा सहमति गर्ने तयारी छ।ती एजेन्डामा प्रधानमन्त्री कार्यालयले सम्बन्धित विज्ञहरूसँग छलफल सुरु गरेको बताइएको छ।
प्रचण्ड पुस १० प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै भारत भ्रमणको चर्चा सुरु भएको थियो। तर नेपालमा राजनीतिक स्थिरता हुन नसकेको कारण भारत भ्रमण ६ महिना ढिलो भएको हो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति अगामी हप्ता घोषणा हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।