काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत नेतृत्वको एक टोली आज स्विजरल्याण्ड जाने भएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको ७६ औँ महासभामा भाग लिन स्वास्थ्य मन्त्रीकको नेतृत्वमा ६ सदस्यीय टोली आज स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएको हो। स्वास्थ्य मन्त्री बस्नेतले आज पत्रकार सम्मेलन गरेर आजै राति जेनेभा प्रस्थान गर्न लागेको जानकारी दिनुभयो ।
सम्मेलन यही मे २१ देखि ३० सम्म चल्ने छ । दुई दिन सम्मेलनलाई सम्बोधन गरेर आफू स्वदेश फर्कने उहाँले जानकारी दिनुभयो। मन्त्री बस्नेतका अनुसार सङ्गठनको नीति निर्धारण गर्ने, वित्तीय नीतिहरूको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने महासभाका मुख्य एजेण्डा रहेका छन्।
नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्र राष्ट्रका दाता तथा सम्बद्ध निकायहरूसँग भेटवार्ता गर्ने, नेपालको स्वास्थ्य क्षेत्रको विकास र विस्तार एवम् सुधारका आयामहरूबारे छलफल गर्ने उहाँको भनाइ छ। यसैगरी, नेपालले विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकको उम्मेदवारी दिने हुँदा सो सम्बन्धी पनि पैरवी गर्ने मन्त्री बस्नेतले जानकारी दिनुभयो ।