काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
गृह मन्त्रालयको स्वामित्वमा भएको बि.ए.बी-१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ । पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू सो गाडीमा जाने गरेका थिए ।
चितवनको सौराहा र काठमाडौँका सुन्धारा लगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरूले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट थाहा भएको छ ।
इम्बोस्ड नम्बर बिएबी-१४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा छ । प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समितिका अध्यक्ष मियाँ सम्पर्कविहीन भएका थिए ।