काठमाडौं। नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको हत्या नै भएको दाबी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उहाँले तत्कालिन समयमा मदन भण्डारीको जगमगाउँदो स्थिति र मदनले बोलेको कुरामा मुलुक डोरिने स्थिति बनेकोले उनको हत्या गरिएको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘त्यतिबेला मदन भण्डारीको जगमगाउँदो स्थिति थियो। मदनले बोलेको कुरामा मुलुक डोरिने स्थिति थियो । त्यसबाट अत्तालिएकाहरुले उहाँलाई षडयन्त्रपूर्वक हत्या गरे। त्यसको तथ्य र प्रमाण भनेको उहाँको ड्राइभर अमर लामालाई नै माओवादीका तर्फबाट मारियो। मदन भण्डारी र जीवराज आश्रितको हत्या कुन कुन तत्त्व मिलेर गरिएको थियो भन्ने कुरालाई ३० वर्षसम्म निष्कर्षमा पुर् याउन सकिएको छैन। यो एमालेका निम्ति चुनौती हो।’
तर भण्डारीको हत्यारा पत्ता लाग्न नसकेको कुरालाई राजनीतीकरण गर्न नमिल्ने पनि डा. भट्टराईको भनाई छ। उहाँले मदन भण्डारीलाई नवीन विचारक, जनताको बहुदलीय जनवादका प्रणेता र कम्युनिन्स्ट आन्दोलनलाई प्रजातन्त्रीकरण गर्ने नेताका रुपमा स्मरण गरे ।