काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाश शरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवा मौन नरहेको स्पष्ट पार्नुभएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले सभापति देउवा यो प्रकरणको निष्पक्ष र स्वतन्त्र अनुसन्धानको पक्षमा रहेको बताउनुभयो।
यो विषयमा पार्टी सभापति देउवा किन चुप हुनुहुन्छ ? भन्ने प्रश्नको जवाफमा महतले भन्नुुभयो, सभापतिको धेरै बोल्ने बानी पहिले देखि छैन। उहाँले स्वतन्त्र र निष्पक्ष अनुसन्धानको पक्षमा छौं भन्नु भएको छ। दोषी निर्दोष र निर्दोष दोषी हुनुपर्छ भनेर हामीले भनेका छैनौं।’
यस्तै प्रवक्ता महतले सांसद आरजु राणा देउवा र मञ्जु खाँणबारे अहिले मिडिया ट्रायल भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ’आरजुले त्यो अडियो फेक हो भनेर साइबर ब्युरोमा उजुरी पनि दिनु भएको छ। हामीलाई पनि त्यो फेक हो भन्ने लाग्छ।अहिले उहाँहरूविरुद्ध मिडिया ट्रायल भइरहेको छ।