काठमाडौं। जनता समाजवादी पार्टी जसपाका प्रवक्ता मनीषकुमार सुमनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टी मौन नरहेको दावि गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले जसपाले कार्यकारिणी समितिको बैठकबाटै नेपाल प्रहरीलाई धन्यवाद दिँदै यस प्रकरणका कुनै पनि दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्छ भनेर भनिसकेको दावि गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘हाम्रो केन्द्रीय कार्यकारिणी समितिको बैठकबाटै नेपाल प्रहरीलाई धन्यवाद दिँदै यस प्रकरणका कुनै पनि दोषीलाई नछाडीकन कारबाही गर्नुपर्छ भनेका छौं। राज्यको उपल्लो तहमा बसेका व्यक्तिहरुले नै आफू धनी बन्नका लागि आफ्ना नागरिकलाई शरणार्थी बनाएर बेच्नेजस्तो जघन्य अपराध गरेका छन्, यसमा कडाभन्दा कडा सजाय गर्नैपर्छ। ताकि कसैले फेरि त्यस्तो कुकर्म गर्ने आँट नगरोस् ।’
मधेस प्रदेशका सांसद समेत रहनु भएका जसपा प्रवक्ता सुमनले दल, नेता, पद, ओहदा वा घराना नहेरीकन भ्रष्टाचारविरुद्धको कारबाही हुनुपर्ने जिकिर गर्नुभयो। उहाँले भन्नुभयो, ‘सबै दोषीलाई कडा कारबाही गर्नुपर्छ । भ्रष्टाचारविरुद्धको कारबाहीमा सरकारलाई तीन करोड नेपालीको साथ छ। सबै दलको साथ छ,हामी सरकारमै छौं, सरकारलाई किन सहयोग नगर्ने ?’ उहाँले थप्नुभयो,‘जसपा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता राख्दछ, सप्रमाण उजुरी दिए सरकार र पार्टीले त्यस्तालाई कारबाही गर्नुपर्छ र गर्छ पनि।’
यस्तै, प्रवक्ता सुमनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई पूर्णता दिन बाँकी रहेको भन्दै अहिले वन मन्त्रालयमा प्रधानमन्त्री प्रचण्ड स्वयं मन्त्री दावी गर्नुभयो। उहाँले पार्टी संसदीय दलको नेता, संसदीय समितिको सभापति र मन्त्री एकैसाथ चयन हुने बताउनुभयो ।
उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले विचार र सल्लाहका नाममा नागरिकता विधेयक रोक्नु नहुने पनि दोहोराउनु भयो।उहाँले भन्नुभयो,‘दुई–दुईपटक संसदले पारित गरी पठाएको विधेयक राकिँदा ६–७ लाख युवाहरुले नागरिकता पाउन सकिरहेका छैनन्। त्यसैले संविधानअनुसार अविलम्ब प्रमाणीकरण गर्ने जिम्मेवारी राष्ट्रपतिको हो ।’