काठमाडौं।नेपाल एसियामा मात्रै होइन, विश्वमै भ्रष्टाचार गर्ने मुलुकको सूचीमा रहेको छ। यहाँ हुने नीतिगत भ्रष्टाचारले त झन जर्जर बनाएको छ। नागरिकको करबाट आर्जित राजश्व सिमित वर्गको काबुमा गएको छ। पछिल्लो समय त राजनीति नै भ्रष्टाचार गर्नका लागि गरेजस्तै भएको छ। डन, माफिया, चोर भिन्न रुचीका मानिसहरुको अखडा राजनीति बन्ने गरेको छ। पछिल्लो समय सहतमा आएको नक्कली भुटानी शरणार्थी प्रकरण त विश्वका सामु लाजमर्दो विषय हो। राजनीतिक विश्लेषक डा। विष्णु दाहालका अनुसार राजनीतिनै धमिलो भएकाले भ्रष्टाचारले प्रसय पाएको छ।
मुलुकमा हुने भ्रष्टाचारका काण्डमा एकपछि अर्को विषय बाहिरिँदै गएको छ। राजनीतिमा होस्, कर्मचारीतन्त्रमा होस् भ्रष्ट र नालायकहरुको जगजगी व्याप्त छ। पैसाको आडमा हरेक क्षेत्रलाई धमिलो बनाइँदै लगिएको छ। नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोख्रेलका अनुसार आफूमा क्षमता हुँदा पनि पछि सर्नुपर्ने स्थिति आएको थियो। संगठनमा राजनीतिक हस्तक्षेप र पैसाको चलखेल भएपछि क्षमतावान व्यक्तिहरु ब्याक हुनुपर्ने अवस्था आएको छ।
नक्कली भुटानी शरणार्थी बनाउने गिरोहले राजनीतिक नेतृत्वमा समेत हलचल पैदा गरेको छ। एकपछि अर्को गर्दै विभिन्न पार्टीका नेताहरु पक्राउ पर्न थालेपछि राजनीतिक वृत्तमा गर्मी बढेको हो। कतिपय नेता तथा उनका सहयोगीहरुको समेत नाम जोडिएको छ।बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण भने अहिले अष्ट्रेलिया पुगिसकेकी छन्। लहरो तान्दा पहरो आएपछि यो काण्ड थेग्न गाह्रो भएको छ। तैपनी माओवादी केन्द्रका नेता हिमाल शर्मा भने निष्पक्ष छानबिन हुनेमा ढुक्क हुनुहुन्छ।
नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले हरेक मुलुकमा भ्रष्टाचार र अराजकता सिर्जना भइराख्ने हुँदा यसको निरुपण कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको औल्याउनुभयो। भ्रष्टाचारलाई प्रसय नदिई उचित छानबिन गर्नुपर्ने उहाँको तर्क छ।
मुलुक विकासको बाधक भ्रष्टाचार हो। यसको अन्त्य हुनुपर्छ भन्ने विभिन्न राजनीतिक दलका प्रस्तावनामा लेखिएको छ।तर, व्यवहारत कार्यान्वयनमा नआउँदा यसको मारमा जनता परिरहेका छन्। जनताको रगत, पसिनामा निश्चित जमात रमाउँदा न मुलुकको विकास भएको छ न त समृद्धि। पटक पटक परिवर्तनका नाममा मुलुकमाथि खेलाँची मात्रै भइरहेको छ। यसको अन्त्य हुन जरुरी छ।