काठमाडौं। नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै विभिन्न ठाउँमा जनता कडा रुपमा प्रदर्शनमा उत्रिएका छन्। यो प्रकरण पार नलाग्दा सम्म खवरदारी र विरोध प्रर्दशन जारी रहने उनिहरुले जनाएका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सकृय गिरोहका विरुद्ध आज देशका विभिन्न ठाउँमा प्रदर्शन भएको हो।
आज काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागीले करोडौंको महल तिमीलाई कसले किन्दियो,सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने जस्ता नारा लेखेको प्लेकार्ड बोकेर नारा लगाएका थिए।
नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भई भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुति समेत दिएका थिए। काठमाडौंको नक्शालमा भएको प्रदर्शनमा सहभागी नागरिक अगुवा तथा चिकित्सक डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पनि जोडिएको आशंका गर्नुभएको छ। ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत नगर्ने उहाँको भनाइ छ। शीर्ष नेता भ्रष्ट नभइकन ऊ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ’ उहाँले भन्नुभयो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका नेताहरु फरार हुनुले उनीहरु दोषी रहेको आशंकामा बल मिलेको केसीको भनाइ छ। प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेता लगायत सहभागी हुनुभएको थियो। रास्वपाका सांसद असिम शाहले भ्रष्टाचारविरुद्ध सडक र सदनबाट निरन्तर आवाज उठाउँने बताउदै यो खवरदारी नरोकिने बताउनहुन्छ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताउनुभयो। यो प्रकरणमा आरोप लाग्नेबित्तिकै एमाले सचिवसमेत रहेका पूर्वमन्त्री टोपवहादुर रायमाझी फरार भएका छन्। पूर्वमन्त्री बालकृष्ण खाँण प्रहरी हिरासतमा रहेका छन् ।
प्रहरीले यो घटनाक्रमको निष्पक्ष छानबिन गर्नुपर्छ। राजनीतिक सौदाबाजी गर्दै सरकारबाट प्रहरीलाई दबाब दिने काम नहोस्। जुनसुकै ओहोदामा पुगेका व्यक्ति किन नहोउन्, उनीहरूमाथि निष्पक्ष छानबिन गर्नुपर्छ। नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा सरकार पनि निर्मम भएर उभिएको छ । सरकारमाथि दबाब सिर्जना भएपनि हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठले खुट्टा नकमाउने बताइसक्नुभएको छ ।