काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ।सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेर कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएको थियो ।
आयोगको राजनीतिक दल व्यवस्थापन शाखा प्रमुख गुरुप्रसाद वाग्लेले श्रेष्ठ निलम्बित भएपछि रास्वपाले कंसाकारलाई सांसद बनाउन पत्राचार गरेको र सो पत्र अनुसार निर्णय भएको जानकारी दिनुभयो। कंसाकार सांसद हुने निर्णय आयोगले अघिल्लो साता नै गरेको थियो।
निर्वाचन आयोगबाट कंसाकारले सांसद भएको प्रमाणपत्र समेत लिइसक्नुभएको छ । हिजो आइतबार उहाँले सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र बुझेको आयोगले जनाएको छ । साथसाथै, आयोगले कंसाकार सांसद निर्वाचित भएको पत्र संघीय संसद सचिवालयलाई पठाइसकेको छ ।
तर उता, आजै सर्वोच्च अदालतले भने निलम्बीत सांसद श्रेष्ठको सांसद पद तत्कालका लागि निलम्बनमा नपर्ने जनाएको छ। श्रेष्ठले हिजो अदालतमा दायर गरेको मुद्दामा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै श्रेष्ठको सांसद पद तत्कालका लागि निलम्बनमा नपरेको हो ।
आफूलाई गैरकानुनी ढङ्गले निलम्बन गरेको भन्दै श्रेष्ठले दिएको रिटमाथि आज सोमवार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलमा बोलाएकाले श्रेष्ठको सांसद पद तत्कालका लागि कायमै रहेको अदालतले जनाएको छ ।