काठमाडौं। संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ। घाइते भविन्द्र गुरुङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो।
उपचारका लागि काठमाडौं लैजाने क्रममा हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको बास्तोलाले बताउनु भयो। गुरुङ अरुण जलविद्युत् आयोजनाका कर्मचारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेलसहित तीनजनालाई उपचारका लागि काठमाडौैं ल्याइ सकिएको छ। क्याप्टेनसहित हेलिकोप्टरमा पाँचजना सवार थिए।
सिम्रिक एयरको हेलिकोप्टर आज अपर अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर निर्माणस्थल जाने क्रममा दिउँसो १ बजेबाट एयर ट्राफिकसँग सम्पर्क टुटेको थियो।
त्यसको केही समयमै भोटखोला गाउँपालिका४ सिब्रुङमा दुर्घटनामा परेको हो। हेलिकोप्टरको पंखा भित्तामा ठोक्किएपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। दुर्घटनाको अन्य प्राविधिक कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।