काठमाडौं। भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८ सय ७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहमा संलग्न केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । अन्य केहीलाई पक्राउ पूर्जी जारी भएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बादलका छोरा प्रतिक थापा, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।
शरणार्थी बनाउने भन्दै ठगी गर्ने गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएपछि उनी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ । धेरैजसो भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गरिए पनि केही शरणार्थी अझै अलपत्र छन् । छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा कार्यदल गठन गरेको थियो ।
गृहका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले काम गरिरहेकै बखत राजनीतिक संरक्षण प्राप्त गिरोहले नक्कली शरणार्थीको सूची संकलन गरेको पुष्टि भएको छ । नेपाल प्रहरीले मुद्धालाई गम्भीर रुपमा हेरिरहेको र प्रमाण संकलन गर्ने कार्य भइरहेको प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभयो । गिरोहले झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाका ८ सय ७५ जनाबाट प्रतिव्यक्ति १० देखि ५० लाखसम्म उठाएको थियो । गिरोहले कैयौंलाई शरणार्थीका रूपमा नक्कली कार्ड पनि बनाइदिएको थियो ।
पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ । दुलाल, भण्डारी, थुलुङ र गुरुङ पनि यसअघि पक्राउ परिसकेका छन् । यदि यो विषय संगठित अपराध ठहरिएमा दशौँ वर्षसम्म जेल सजाय हुने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको भनाइ छ ।
एमाले सचिव तथा अर्घाखाँचीका सांसद रायमाझीले दुलाल, भण्डारी, पोखरेलसँग निकटकै सम्बन्ध रहेको र उनीहरूको योजनामा ‘अन्जानवश’ सहयोग गरेको प्रस्टीकरण दिएका थिए । रायमाझीको भनाइले समेत गृहको कार्यदल पनि वास्तविक शरणार्थीको समस्या समाधान गर्नेभन्दा नक्कली खडा गर्ने गुरुयोजनाअनुसार बनेको आशंका बढाएको छ । गिरोहका सदस्य अशोक पोखरेलले नबिल बैंकमा रहेको आफ्नो खाताको चेकबाट २०७६ जेठ १९ सन्दीपका नाममा चेक काटेका थिए । टोपबहादुरले पनि पोखरेलसँग चिनजान रहेको र विभिन्न विषयमा सहयोग गरेको बताएका थिए ।