काठमाडौं। सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरि बैठक बोलाउनुभएको हो ।
गठबन्धनको बैठकमा नीति तथा कार्यक्रम र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल हुनेछ। यस्तै,गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।
यस्तै आजको बैठकमा सरकारको समर्थन कायमै राखेर सरकार बाहिर रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई पुन सरकारमा ल्याउने बारेमा पनि छलफल हुनेछ । पछिल्लो समय रास्वपालाई सरकारमा सहभागी गराउनेबारे प्रधानमन्त्री प्रचण्ड विभिन्न रणनिती अपनाई रहनु भएको छ ।
उहाँले केही दिनअघि रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा आउन औपचारिक प्रस्ताव गरिसक्नु भएको छ। त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा र लामिछानेबीच पनि हिजो भेटवार्ता भएको थियो ।
तर रास्वपाले भने सरकारमा जाने, नजानेबारे छलफल गर्न शुक्रबार पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। त्यस बैठकले मात्रै औपचारीक निर्णय गर्ने रास्वपाले जनाएको छ ।