काठमाडौं।सङ्घीय संसद्को हिउँदे अधिवेशन गयरातिदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले गएराति १२ बजेदेखि लागू हुनेगरी सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । यो हिउँदे अधिवेशनमा राष्ट्रिय सभातर्फ १९ र प्रतिनिधि सभातर्फ २८ वटा बैठक बसेका छन् । मंसिर ४ को चुनावपछि सुरु भएको प्रतिनिधि सभाको पहिलो अधिवेशनले कुनै पनि कानुन निर्माण गर्न सकेन । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदनको अधिवेशन प्रभावकारी हुन नसकेको टिप्पणी गरेको छ ।
एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सरकारले बिजनेस दिन नसकेकाले सदनको अधिवेशन प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुहुन्छ । राज्य यो बीचमा जवाफदेहि हुन नसकेको र राज्यलाई मुख्य मुद्दामा कुनै चासो र सरोकार नभएको उहाँको भनाई छ । समग्र पक्षमा एमालेले सहयोग गर्दा गर्दै पनि संविधान र कानुनसँग जोडिएका संघीय निजामती, नागरिकता विधेयक, संघीय प्रहरी, शिक्षा विधेयक सरकारले ल्याउन नसकेको आरोप पनि उहाँले लगाउनु भएको छ। सरकार पक्ष जिम्मेवार नबनेको उहाँको गुनासो छ ।
सरकारमा सहभागि नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले संसदको अधिवेशन आंशिक रुपमा उपलब्धिमूलक भएको टिप्पणी गर्नुहुन्छ । ‘सरकारले पटकपटक विश्वासको मत लिनुपरेकाले पनि प्रभावकारी हुन नसकेको उहाँको भनाई छ ।विधयेक केहि प्रकृयामा गएको भन्दै पौंडेल सरकारले पर्याप्त बिजिनेस दिन नसकेको स्वीकार गर्नुहुन्छ । तर सरकारले बिजिनेस नदिए पनि संसद निष्क्रिय भन्न नमिल्ने उहाँको तर्क छ ।
प्रतिनिधि सभाको यो अधिवेशनमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक दर्ता भएका छन् । चुनावपछि प्रतिनिधि सभामा तीन र राष्ट्रिय सभामा एक विधेयक दर्ता भएका थिए ।पहिलो अधिवेशनको अन्तिम दिन हिजो प्रतिनिधि सभामा दर्ता भएका तीनवटै विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।
यसबीचमा प्रधानन्यायाधीश सिफारिससँगै संसदीय सुनुवाइका लागि संयुक्त समिति गठनमा पनि दलहरूबीच सहमति जुट्न सकेन । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई विशेष समितिमा छलफलका लागि पठाउने राजनीतिक सहमति पनि सदनमार्फत् कार्यान्वयन हुन सकेन । हिजोको अन्तिम बैठकमा प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट पारित भइ आएका छवटा विधेयकलाई पनि सम्बन्धित समितिमा पठाएको छ । यस्तै, हिउँदे अधिवेशनको अन्तिम बैठकमा हिजो प्रतिनिधि सभाले विभिन्न १० वटा विषयगत समिति गठन गरेको छ ।