काठमाडौं। संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताउनुभएको छ । आज होटल सेवा व्यवस्थापनसम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री किरातीले जनमतको सम्मान गर्न रविले रोजेको मन्त्रालय दिनुपर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो “जो अत्याधिक मतले जितेर आउनुभएको छ, रवि लामिछानेजी उहाँलाई छानेको मन्त्रालय दिएर लैजाऔँ। जनताको विश्वासमाथि सम्मान गरौँ”।
मन्त्री किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत जनताको आक्रोश भएको पनि बताउँदै भन्नुभयो, “राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो, यो जनताको आक्रोश हो । मुख्यतः जिम्मेवार ठूला दलहरूको अकर्मण्यताको पराकाष्ठ हो । हामी राजनीतिको नाममा धेरै विभाजित भयौँ । अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ ।”
मन्त्री किरातीले गणतन्त्र नेपालमा राणाकालीन कानुन बोकेर हिँड्नु परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। युवालाई खाडी पठाएर तिनले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको समयमा तिनलाई नै प्लेनको टिकट महँगो बनाईदिँदा सास्ती भैरहेको बताउनुभयो ।