काठमाडौं। मुलुकमा बदलिएको राजनीतिक परिस्थितिबारे देशमा मात्रै होइन विदेशसम्म चाँसो र बहसको विषय बनेको छ । लामो समय यो देशमा शासन चलाएका राजनीतिक दल छोडेर नयाँ अनुहार र दलप्रति देखिएको रुझानले जनताले परिवर्तन खोजेको महशुस गर्न सकिन्छ। नयाँ दललाई जनताले जसरी मत दिएका छन्, उनीहरुमाथि उत्तिकै जिम्मेवारी पनि थपिएको छ । अहिलेको व्यवस्थालाई अंगिकार गरेर जाने वा नयाँ व्यवस्थाका निम्ति लड्ने, यसबारे सचेत हुन जरुरी छ ।
पछिल्लो समय व्यवभारको रुपमा मात्रै हेरिएको प्रदेश संरचना खारेज गर्नुपर्ने आवाज चौतर्फी उठेपनि नयाँ आएका दल र नेताहरुले यसबारे धारणा बनाइसकेका छैनन्। अहिलेको परिवर्तित राजनीतिक अवस्थाबारे कुटनीतिज्ञ, विश्लेषकहरुले पनि आआफ्ना धारणा सार्वजनिक गर्न थालेका छन्। नयाँ पालुवा पलाउन, पुराना पात झर्नैपर्ने बताउँदै कुटनीतिज्ञ, विश्लेषक लोकराज बरालले पुराना दलहरुले जनतालाई सहज रुपमा डेलिभरी दिन नसकेको दाबी गर्नुभयो ।
नागरिक समाजका अगुवा सुन्दरमणि दिक्षितले अहिलेका राजनीतिक दलहरुप्रति जनताहरु निराश भएको बताउनुभयो। अझै उनीहरुले लामो शासन गर्नसक्ने भन्दै जनताले नयाँ सिपाही तयार गरेको उहाँको भनाइ छ। पछिल्लो समय उपनिर्वाचनमा आएको मतपरिणामले दलहरुलाई झस्काएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले त अब सच्चिनै पर्ने बताइसक्नुभएको छ। तर, सच्चिनु केलाई भन्ने यसबारे भने उहाँले प्रष्ट पार्नुभएको छैन । जनताको मतको रुझान हेर्दा उनीहरु नेतृत्वमा नयाँ अनुहार हेर्न चाहन्छन् । एउटै माघले जाडो जाँदैन भनेजस्तै लामो समय जगडिएर रहेको प्रणालीलाई भत्काउनका निम्ति धेरै माघ आउनुपर्ने देखिन्छ। कांग्रेस नेता गुरुराज घिमिरेका अनुसार राजनीतिक दलहरु निरन्तर क्षयीकरणको बाटोमा गएका छन् ।
अब स्थापित दल र नेताहरुले जनताको भावना अनुरुप आफ्ना कार्यक्रम ल्याउन सक्नुपर्दछ । लामो समय एकै अनुहार सत्तामा भइरहने तर परिवर्तन नहुने कुराले जनता मात्रै होइन नेपालप्रति विदेशीहरुको समेत नकारात्मक धारणा बन्दै गएको छ । अब राष्ट्रिय प्रजापरिषद्, चीनमा माओसेतुङको उदय पूर्वको कोमिङताङ बन्ने की सही बाटोमा लाग्ने दलहरुकै हातमा छ ।