काठमाडौं। गण्डकी प्रदेशले आज नयाँ सरकार पाउँदैछ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर नयाँ संयुक्त सरकार बनाउन लागेका हुन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि दिएको समय आज अपराह्न ४ बजे सकिँदैछ ।नेपाली कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले तोकिएको समयावधि भित्रै गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरिने बताउनु भएको छ।
कांग्रेसको मुख्यमन्त्री बन्नेमा कुनै द्वविधा नरहेको उहाँको भनाइ छ।माओवादी केन्द्रले पनि मुख्यमन्त्री आफूले पाउनुपर्ने अडान राख्दै आएको छ। अहिले मुख्यमन्त्री नपाउने स्थितिमा आलोपालोका लागि समय नै तोकेर लिखित सहमति गर्नुपर्ने उसको माग छ।
त्यसकारण पनि केन्द्रको आग्रह नआउदा सम्म निर्णय नगर्ने बताएको छ।राष्ट्रपति चुनावमा केन्द्रीय सत्तागठबन्धन फेरिएसँगै गण्डकीमा पनि नयाँ सरकार गठन हुन लागेको हो। विश्वासको मत पाउन नसकेपछि नेकपा (एमाले)का खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो।
सत्ता साझेदार माओवादी केन्द्रले गत चैत १० गते समर्थन फिर्ता लिएपछि अघिल्लो सरकार अल्पमतमा परेको थियो। ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका आठ ९सभामुखसहित० र एकीकृत समाजवादीका एक सदस्य छन्।