काठमाडौं। प्रमुख तीन दलले नाम नदिएपछि संसदीय सुनुवाइ लगायतका समितिहरु गठनमा विलम्ब हुने भएको छ ।संसदको आज बुधबार दिउँसो ३ बजे बोलाइएको बैठकको प्रस्तावित कार्यसूचीमा संसदीय सुनुवाइ समितिका सदस्यहरु मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसुचि थियो ।
तर,संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा दलहरुले आफ्ना प्रतिनिधिको नाम दिएनन्। नेपाली कांग्रेस, एमाले र माओवादीले नै सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम नदिएका हुन्। सभामुख देवराज घिमिरेले पनि भोलिसम्म नाम दिन आग्रह गर्नुभएको छ ।
बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता पक्ष र प्रतिपक्षबीच बृहत्तर सहमतिको प्रयास भइरहेकाले समिति गठनमा विलम्ब भएको बताउनुभयो। ‘हामी निरन्तर छलफलमा छौं, आज पनि छलफल गर्छौं र चाँडोभन्दा चाँडो टुंग्याउँछौं,’ लेखकले भन्नुभयो ।