काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं भारी मतले विजयी नवनिर्वाचित सांसद रवि लामिछानेले चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ ले दिएको बताउनुभएको छ।
फराकिलो मतान्तरले विजयी भए पछि लामिछानेले जिम्मेवारी थपिएको जनाउँदै सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्तो बताउनुभएको हो ।
‘चितवन–२ सहित देशैभर गर्नुपर्ने काम धेरै छन्।तपाईंहरुकै भर र समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अवरोध तोड्न इमानका साथ लागिरहने छु,’ मतदातालाई धन्यवाद दिँदै लामिछानेले भन्नुभयो,‘चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ का मतदाताले दिनुभएको छ।’
उप निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्रेरित गरेको उहाँको भनाई छ ।
व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दलका उम्मेदवार र तिनका कार्यकर्ता समक्ष लामिछानेले आग्रह पनि गर्नुभएका छ ।