काठमाडौं। यहीँ वैशाख १० गते भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो परीणाम हासिल गरेको छ । रास्वपाले विजय प्राप्त मात्रै गरेन, प्रतिद्वन्द्वी दलहरुलाई फराकिलो मतान्तरले उछिनेको छ। चितवन–२ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी हासिल गर्नुभएको छ । उहाँ ५४ हजार १ सय ७६ मतसहित विजयी हुनुभएको छ ।
लामिछानेले चितवनमा मात्रै होइन, सिंगो देशभरी रास्वपाको जनलहर ल्याउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विजय ¥यालीमा सम्बोधन गर्दै लामिछानेले यो देशमा भ्रष्ट्राचार गर्नेहरुको फाइल खोल्ने समेत बताउनुभएको छ। आफूलाई मत दिने नदिने सबैलाई एकै ठाउँमा समेटेर विकास र समृद्धिको बाटोमा लाग्ने लामिछानेको प्रतिवद्धता थियो ।
चितवन २ मा लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत र नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गर्नुभएको थियो। गत मंसिर ४ मा भएको आमनिर्वाचनमा ८४ हजार ३ सय १५ मत खस्दा लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी हुनुभएको थियो । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने ४ हजार ९१२ मत बढाउनुभएको छ ।
यता, तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले मतदातामाझ गरेको प्रतिबद्धता पूरा गर्न आफ्नो इमानदार प्रयास रहने बताउनुभएको छ। आज नवनिर्वाचित संसदलाई प्रमाणपत्र वितरण कार्यक्रममा डा. वाग्लेले उपनिर्वाचनका क्रममा गरिएको घरदैलो कार्यक्रममा मतदातामाझ गरेका प्रतिबद्धता पूरा गर्न इमान्दार रहने बताउनुभएको हो ।
उपनिर्वाचनमा तनहुँ–१ बाट स्वर्णिम वाग्लेको विजयसँगै प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट बढेको छ। अब रास्वपाका २१ सांसद हुनेछन्। पार्टी गठनको पाँच महिनामै आम निर्वाचनमा सहभागी भएको रास्वपाले गत मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी प्रतिनिधिसभामा २० सिट जितेको थियो ।