काठमाडौं । आइतबार उपनिर्वाचन सम्पन्न भएका बारा–२, चितवन–२ र तनहुँ १ मा मतगणना जारी छ। तनहुँ १ मा गएरातिदेखि नै मतगणना सुरु भइरहेको हो भने बारा २ र चितवन २ मा आज दिउँसोदेखि मतगणना सुरु भएको हो ।
चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पाँच वटा वडाको मतगणना सम्पन्न भएको छ ।
प्राप्त नतिजाअनुसार अहिले इच्छाकामना १,२,३,४ र ५ को गणना सकिएको छ । नतिजा अनुसार रास्वपा सभापति रवि लामिछानेले अग्रता कायमै राख्नुभएको छ । लामिछानेले तीन हजार १६६ मत पाउनुभएको छ । यस्तै, नेकपा (एमाले) का उमेदवार रामप्रसाद न्यौपानेले एक हजार ७१६ मत प्राप्त गर्दा कांग्रेस उमेदवार जितनारायण श्रेष्ठले एक हजार २४१ मत पाउनुभएको छ ।
तनहुँ १ मा पनि अहिले मतगणना जारी छ । जारी गणनामा रास्वपा उमेदवार डा. स्वर्णिम वाग्लेले १८ हजार ४६१ मत पाउनुभएको छ । प्राप्त परिणामअनुसार वाम लोकतान्त्रिक गठबन्धनको सहयोगमा कांग्रेस उमेदवार गोविन्द भट्टराईले १० हजार ८१७ मत पाउनुभएको छ ।
तेस्रो स्थानमा रहेका एमालेका सवेन्द्र खनालले भने पाँच ६ हजार ६७ मत पाउनुभएको छ । मतगणना सुरु भएदेखि नै तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बनाइरहनु भएको छ ।
यस्तै बारा २ मा जनता समाजवादी पार्टी (जसपा)ले जनमत पार्टीसँग अग्रता घटाएको छ। करैयामाई गाउँपलिकाको मतगणना भइरहँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ११४६ मत पाउनुभएको छ । यसैगरी सत्ता गठबन्धनका तर्फबाट जसपाका उपेन्द्र यादवले १११७ मत पाउनुभएको छ ।
नेकपा एमालेका पुरूषोत्तम पौडेलले ५३८ मत पाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४४ मत पाउनुभएको छ ।