काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ स्थापना दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । कम्युनिष्ट विचार हराउँदै गइरहेका बेला आज विभिन्न दलका नेताहरूले आआफ्नो बचाउ, भावनात्मक र आवेगात्मक प्रस्तुति दिएका छन् । जहानियाँ राणा शासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।
पुष्पलाल पार्टीका महासचिव हुनुहुन्थ्यो । स्थापनाको सात दशकको इतिहासमा पटक–पटक कम्युनिस्टले नेपालमा शासनसत्ता समेत चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो । तर, पुष्पलालको विचार र सिद्धान्तबाट भने हालका कम्युनिष्टहरू विचलित हुँदै गएका छन् । कम्युनिष्ट स्थापना दिवसका अवसरमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय विचार, सिद्धान्त र पद्धति विपरीत भावनात्मक, आवेगात्मक पक्षले प्रशय पाएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
दिवसकै अवसरमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएको आरोप बगाउनुभएको छ । उनीहरूले कम्युनिष्ट पार्टीको झण्डा राख्नु नै बेकार भएको ओलीको टिप्पणी थियो । नेपालमा विभिन्न कालखण्डमा भिन्न प्रवृत्तिका समूहको जन्म भएको स्मरण गर्दै ओलीले कम्युनिष्टकै स्कुलिङबाट प्रचण्ड नामको ऐँझेरुको जन्म भएको दाबी गर्नुभयो ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीहरू एकजुट हुन नसक्नु दुःखद भएको बताउनुभयो । उहाँले विचार र भावना मिल्नेहरूबीच पार्टी एकता गरेर जान सकिने बताउनुभयो । अलग अलग पसल थापेर बस्दा केही फाइदा नभएको उहाँको भनाइ थियो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मरुभूमिमा कुवा भनेजस्तै केही व्यक्तिहरू मात्रै कम्युनिष्टको आवरण रहेको बताउनुभयो । उहाँले विद्रोह कहिल्यै समाप्त हुन नसक्ने भन्दै विद्रोहको ज्वालानै कम्युनिष्टको विशेषता रहेको दाबी गर्नुभयो ।
श्रृंखलावद्ध टुटफुट र सत्ता केन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा पर्दै गएको छ । मुलुक निर्माण भन्दा पनि आफू निर्माण तर्फ आन्दोलन केन्द्रित बन्दा वैकल्पिक शक्तिहरूले स्थापित दल भन्नेलाई चुनौती थपिदिएका छन् ।