काठमाडौं । पर्सी आइतबार १० गते बारा २, चितवन २ र तनहुँ १ मा हुने उपनिर्वाचनको मौन अवधि अर्थात स्थिर समय जारी छ। मौन अवधिको पालना भए नभएकोबारे निर्वाचन आयोगले कडाईका साथ निगरानी गरिरहेको छ ।
निर्वाचन आयोगले उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले तीन क्षेत्रमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउने काम भईरहेको जानकारी दिनुभएको छ ।
मौन अवधिको आयोगले अनुगमन गरिरहेको छ। सामाजिक सञ्जालमा पनि निर्वाचन आयोगले निगरानी बढाएको अर्यालले बताउनुभएको छ। स्थानिय प्रशासनलाई आयोगले आचार संहिता उलंघन हुन नदिन सजग गराएको उहाँको भनाई छ। नागरिकको चेतनास्तर बढेकाले पनि त्यस्ता गतिविधि हुँदैनन् भन्ने अपेक्षा रहेको उहाँको दाबी छ ।
लोकतन्त्रको मेरुदण्ड मानिएको निर्वाचनलाई स्वस्थ बनाउन वचनले मात्र नभई व्यवहारबाट अनुभूत हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ। पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्वतन्त्र र निर्भिक भएर मतदानको अधिकार प्रयोग गर्न सवैमा आग्रह गर्नुभएको छ।
आफ्ना अपेक्षा पूरा नभएकाले दलहरुसँग जनता रुष्ट हुनु एउटा पक्ष हो। तर मतदान ठूलो अधिकार हो भनेर उनीहरुले निर्वाचनमार्फत अभिमत दिइरहेका हुन्छन्। नेपाली मतदाता निर्वाचनप्रति जहिल्यै उत्साहित र उत्सुक दभएको पूर्व प्रमुख निर्वाचन आयुक्त यादवको भनाई छ।
निर्वाचन आयोगले पाँच बुँदे निर्देशन जारी गर्दै आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ कारबाही गर्न पनि भनेको छ। आयोगले निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था पनि गरेको छ।
सत्तारुढ दलहरूको गठबन्धन, उम्मेदवारको पृष्ठभूमि र दल अदलबदलले पैदा गरेको राजनीतिक द्वेषले उपनिर्वाचनमा रौनक थपेको छ भने त्यही कारण दलहरूले उपनिर्वाचनलाई प्रतिष्ठाको लडाइँ बनाएका छन्। यसैकारण पनि मौन अवधिको पालना भए नभएकोबारे निर्वाचन आयोगले कडाईका साथ निगरानी गरिरहेको हो ।