काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउन नसकिने जनाएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले अब बाँकी कलेजमा निर्वाचन गराउन नसकिने जानकारी दिनुभएको हो ।
उपत्यकाका ४ सहित १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन। नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस र विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन हुने सकेको छैन ।
त्यस्तै उपत्यकाबाहिरका ८ वटा आंगिक क्याम्पसमा समेत निर्वाचन हुन सकेको छैन।उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा निर्वाचन हुन सकेको छैन ।
चैत ५ गते तोकिएको निर्वाचनमा विद्यार्थी सङ्गठनहरूकै अवरोधका कतिपय क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन सकेको थिएन। तीमध्ये केही क्याम्पसमा विभिन्न मितिमा निर्वाचन भएको थियो ।
चार विद्यार्थी सङ्गठनहरूले नै चैत ३० गते बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउने सहमति गरेका थिए।तर, विद्यार्थी सङ्गठनहरूको आ आफ्नै अडानका कारण उक्त मितिमा समेत निर्वाचन हुन सकेन ।
त्रिविको नियमअनुसार तोकिएको मितिमा निर्वाचन नभएका क्याम्पसहरूमा एक महिनाभित्रमा निर्वाचन गराउनुपर्ने भएपनि अहिलेसम्म निर्वाचन हुन सकेको छैन ।
त्रिविले अब स्ववियु निर्वाचनको च्याप्टर क्लोज भइसकेको जनाएको छ । तर, विद्यार्थी सङ्गठनहरू भने वैशाख १० गतेको उपनिर्वाचनपछि स्ववियु निर्वाचन गराउनुपर्ने मनसायमा छन् । त्रिविले भने आफूले अब निर्वाचनका विषयमा केही पनि नगर्ने प्रस्ट पारेको छ ।