काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्र यादव देशको नेता भएको भन्दै संसद्का लागि अत्यावश्यक भएको बताउनु भएको छ । आज बाराको गढीमाईमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो । मधेशले मात्रै नभएर देशले जित्नु हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो । समग्र परिवर्तनका मुद्दाले जित्नु हो” ।
यस्तै उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ । सो विमानस्थलको कामले अब छिट्टै गति लिने विश्वास दिलाउनुभयो ।उहाँले विद्युतीय सिँचाइ प्रणालीमार्फत् सिँचाइको व्यवस्था गर्ने र उपेन्द्र यादवको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै उहाँले यसपटक सहज राष्ट्रपति पाएकोले नागरिकता विवाद छिट्टै समाधान हुने बताउनुभयो । “यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ, नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ”, प्रधानमन्त्रीको कथन छ।
प्रधानमन्त्रीले यसअघि अर्थतन्त्र सङ्कटमा भए पनि अहिले अर्थतन्त्रमा सुधार देखिएको बताउनुभयो । “पर्यटक आउने क्रम बढेको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ। विदेशमा रहेका लाखौंँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ । समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो”, उहाँले भन्नुभयो ।
संविधान र लोकतन्त्रको रक्षा एवं समृद्धिका लागि यो गठबन्धन बनेको उहाँले स्पष्ट पार्नुभयो ।