काठमाडौं। बञ्चरेडाँडा क्षेत्रमा फेरी पनि फोहोर व्यबस्थापनमा अबरोध हुने भएको छ। धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए फोहोर राक्ने चेतावनी दिएपछी सो क्षेत्रमा फेरी पनि फोहोर व्यबस्थापनमा समस्या हुने भएको छ ।
काठमाडौं महानगरपालिका लगायत १८ पालिकाको फोहोर व्यवस्थापन भइरहेको यो क्षेत्रका स्थानीयले गत वर्ष गरिएको सहमतिअनुसार माग पुरा गर्न १५ दिनको अल्टिमेटम दिएका छन्।बञ्चरे डाँडा र सिसडोल डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्ने सन्दर्भमा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका तथा धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका जनप्रतिनिधबीच २०७९ जेठ २३ गते सहमति भएको थियो।
यस्तै, काठमाडौं महानगरपालिका र धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरुबीच २०७९ जेठ २६ अर्को छुट्टै सहमति भएको थियो।१ वर्ष अगाडि भएको सहमतिका बुँदाहरुको कार्यान्वयन अहिलेसम्म नभएको भन्दै ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले सहमति कार्यान्वयनका लागि १५ दिने अल्टिमेटम दिएका हुन्।
फोहोर मैला व्यवस्थापनका लागि वैज्ञानिक तथा प्राविधिक विज्ञ टोली गठन गरी न्यून प्रभाव पर्ने गरी व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने दुवै पालिकाले माग गरेका छन्।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिवेशी नगरपालिकाका प्रमुख वालकृष्ण आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा ककनी र धुनिवेशीका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया तुरुन्त अगाडि बढाउनुपर्ने माग गरिएको छ।
फोहोर मैला व्यवस्थापनका क्रममा सिसडोलमा हालसम्म गरिएका वातावरणीय प्रभाव मूल्याङ्कन, कार्यान्वयनको अवस्था र कुन निकायबाट मूल्याङ्कन गरिएको हो सोको जानकारी गराउन पनि विज्ञप्तिमार्फत् माग गरिएको छ।
ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाका वडाहरुमा १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्न बजेट विनियोजन हुनुपर्ने पनि विज्ञप्तिमा माग गरिएको छ। आफूहरुका माग १५ दिनभित्र पूरा नभए संघर्ष गर्न बाध्य हुने दुवै पालिका प्रमुखद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।