काठमाडौं। आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभयो।ओलीको स्वास्थ्य अवस्था बुझ्न र रिक्त प्रधानन्यायाधीश पदलाई पूर्ति गर्नका निम्ति सहमति खोज्न देउवा र प्रचण्ड बालकोट पुग्नुभएको थियो ।
शीर्ष तीन नेताहरुबीच करिब १५ महिनादेखि रिक्त रहेको प्रधानन्यायाधीश पदमा सहमति जुटाउनका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ। न्यायालय कायममुकायमको भरमा लामो समय चलाउँदा प्रधानन्यायाधीशको रेसमा रहेका कतिपय न्यायाधीशको कार्यकाल छोटिँदै गएको छ। ओली निवास बालकोटमा बसेको बैठकमा प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो।
यस्तै, टिआरसी विधेयक, संसद सञ्चालन र समिति गठनको विषयमा पनि नेतृत्वबीच सहमति जुटेको लेखकको भनाइ छ । लेखकका अनुसार संवैधानिक परिषद्को बैठकको मिति प्रधानमन्त्रीले तोकेर खबर गर्ने कुरा भएको छ। यता, तीन दलका शीर्ष नेताको बैठकमा एमालेले टीआरसी विधेयक टुंग्याउन शर्त राखेको छ।
तीन दलको शीर्ष तहको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा आफूहरूले अडान राखेपछि संवैधानिक परिषद्को बैठक राख्ने सहमति भएको एमाले सचेतक महेश बर्तौलाले बताउनुभयो।संसद सबैको भएकाले टीआरसी, विषयगत समितिलगायतको विषयमा सहमतिमा अगाडि बढ्नुपर्नेमा बर्तौलाले जोड दिनुभयो ।
संविधान कार्यान्वयको विषयमा शीर्ष तहमा सहमति बनाएर अघि बढ्नुपर्ने बर्तौलाले बताउनुभयो। पीडितहरुलाई न्याय दिने कुरा भएकोले शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण हिस्सालाई छिटो टुग्याउनुपर्ने उहाँले बताउनुभयो ।
न्याय निरुपणको विषयमा अन्तर्राष्ट्रिय जगतले पछि कुनै प्रश्न नउठाओस् भन्ने कुरामा एमाले सचेत रहेको भन्दै उहाँले टीआरसी विधेयकलाई विषयगत समितिमा लगेर टुंग्याउनुपर्ने बताउनुभयो । बालकोट बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।
२०६२,,०६३ को जनआन्दोलनपछि बनेका सरकारमा माओवादी केन्द्र प्रत्यक्ष र परोक्ष रुपमा सहभागी हुँदै आएपनि सशस्त्रद्वन्द्वका घाउलाई निरुपण गर्न नखोज्दा आज आएर समस्या बल्झिएको हो। द्वन्द्वकालीन घटनालाई किनारा लगाएर पीडकमाथि कारबाही र पीडितलाई न्याय दिनु आजको आवश्यकता हो ।