काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले भावनाको व्यापार गरिरहेको आरोप लगाउनु भएको छ।
उपनिर्वाचनको क्रममा चितवनको कालिका नगरपालिकास्थित क्लब चोकमा आयोजित चुनावी सभामा बोल्दै महामन्त्री थापाले संविधानले नै ब्यवस्था नगरेको दोहोरो नागरिकताको मुद्दामा दलहरूलाई दोष दिएर लामिछानेले जनतालाई भम्र छरेको आरोप लगाउनु भएको हो ।
थापाले परीक्षणको क्रममा पाँच वर्ष खेर जान दिन नहुने भन्दै भावानामा नबग्न चितवन क्षेत्र नं. २ बासिलाई आग्रह गर्नुभयो। ‘चितवन-२ का मतादाता भावनात्मक ब्यापारमा बहकिनुहुन्छ कि तथ्यमा टेकेर निर्णय गर्नुहन्छ। उपनिर्वाचन किन हुँदैछ भनेर कुनै दल नबनी स्वतन्त्र बहस गर्नुस् अनि निर्णय गर्नुहोस् त,'उहाँले भन्नुभयो ।
महामन्त्री थापाले देश बिरामी परेको भन्दै अबको पाँच वर्ष खेर जान नदिने भन्दै सरकारमा सहभागी भए पनि प्रश्न गर्न आफू पछि नपर्ने बताउनु भयो । उहाँले पार्टी कार्यकर्तालाई आफ्नो उम्मेदवारलाई जिताउन आह्वान गर्नुभयो ।
'बरु भोटै हाल्दिन भन्न पाइन्छ। तर पार्टीमा बसेर बाहिर बाहिर रुख भन्ने भित्र भोट नहाल्ने काम राम्रो हुँदैन। मनमा हरि छ भने अरुले नदेखेपनि हरिले देख्छन्,' उहाँले भन्नुभयो,'पार्टीको नीति र निर्णयको विषयमा तपाईँको प्रश्न होला। त्यसको सके उत्तर दिउला नसके सँगै लडौला । तर यो पाँच वर्ष खेर जान दिनु हुँदैन।'