काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी (नारायणप्रसाद) साउदले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
आइतबार(आज) शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नै उहाँलाई मन्त्रीमा नियुक्त गरेपछि राष्ट्रपति पौडेलबाट शपथ लिनुभएको हो।
कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित साउद पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिनुहुन्छ। साउद यसअघि सिँचाइमन्त्रीसमेत बन्नुभएको थियो ।
कांग्रेस केन्द्रीय सदस्य रहनुभएका साउदलाई सभापति देउवाले प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट पाँचौं मन्त्रीको रुपमा पठाउनुभएको हो। वर्तमान सरकारमा साउदसहित कांग्रेसबाट पाँच जना मन्त्री बनिसक्नुभएको छ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी भइरहँदा साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको हो । यद्यपि सरकारले पूर्णता पाइसकेको छैन । कांग्रेसले सरकारमा थप पाँच मन्त्री पठाउने तयारी गरेको छ । तर त्यसका लागि सभापति देउवा र शेखर कोइराला पक्षबीच सहमति जुटिसकेको छैन ।
यस्तै,भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्रीमा नन्दा चपाईले शपथ लिनुभएको छ । चपाई नेकपा एकीकृत समाजवादी पार्टीको राष्ट्रिय सभा सदस्य हुनुहुन्छ ।