काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नु भएको छैन। गत पुष १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिँदापनि मन्त्रिपरिषद्ले भने अझैं पूर्णता पाउन नसकेको हो। सरकारले गर्नुपर्ने काम धेरै छन् । तर मन्त्रिपरिषद् कछुवा गतिमा विस्तार हुँदा कामकाज प्रभावित भएको छ।
यद्यपी,सरकारमा भोलि थप एकजना मन्त्री नियुक्त हुदैहुनुहुन्छ। कांग्रेसबाट एनपी साउदलाई भोलि परराष्ट्र मन्त्री बनाउने तयारी भएको छ। गठबन्धनमा रहेका १० दलबीच मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा अझैं मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष तीन दलका नेताहरुको बैठकले पनि भागबण्डालाई अझै निष्कर्षमा पुर्याउन सकेन ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग मन्त्रीको नाम मागेपनि हालसम्म कांग्रेस पार्टीभित्रको अन्तरद्वन्द्वले सवै मन्त्रीको टुंगो लाग्न नसकेको हो। नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकाश रसाइली निर्वाचन सकिएलगत्तै वा त्यस अघि मन्त्रीमण्डललाई पुर्णता दिने पक्षमा आफुहरु रहेको र प्रधानमन्त्री त्यसमा सकारात्मक रहेको दाबी गर्नुहुन्छ ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस पार्टीको तर्फबाट चाडै मन्त्रिको नाम दिन आग्रह गरिरहनु भएको छ। कांग्रेसमा सभापति शेर वहादुर देउवासँग शेखर–गगन समूह असन्तुष्ट बन्दा मन्त्रीको नाम टुंगो लाग्न सकिरहेको छैन। नेता रसायली कांग्रेस पार्टीलाई समुन्द्र भन्दै पार्टीमा समुन्द्रभित्र समुहबीच कुरा नमिल्नु सामान्य भएको बताउनुुहुन्छ ।
मन्त्रिपरिषद्ले बेलैमा पूर्णता पाओस् र सरकार आफ्नो नियमित कामकाजमा लागोस् भन्ने चाहना जनताको छ। नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकलाई एकतावद्ध बनाएर लैजाने नेतृत्वको कमि भएको भन्दै पदको मात्रै लोभ गर्ने नेताले गर्दा देशले दुःख पाएको र सरकारले राम्रो संग काम गर्न नपाएको तर्क गर्नुहुन्छ ।
मन्त्रिपरिषद् अहिलेसम्म १८ सदस्यीय छ। अझै ६ सदस्यको नियुक्ति हुन बाँकी छ। प्रधानमन्त्रीले अहिले बाँकी रहेका सबै मन्त्रालयको नेतृत्व गरिरहनु भएको छ। धेरै मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डमा हुँदा मन्त्रालयको दैनिक काम कारबाही नै प्रभावित बनेको गुनासो समेत आउन थालेको छ।