काठमाडौं। सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिको जसरी काम गर्नुपर्ने बताउनुभएको छ। कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महशुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पार्नुभयो।
महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत पनि गराउनुभयो। सरकारले राम्रो काम गर्दै गए ३,४ महिना भित्रै मुलुक सम्हालिँदै जाने उहाँको भनाई थियो ।
महामन्त्री थापाले २०८० सालमा नेपाली कांग्रेसलाई सुद्धिकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताउनुभयो। उहाँले २०८० सालको जेष्ठ अन्तिम साता नेपाली कांग्रेसको नीति अधिवेशन हुने तयारी भईरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदुढीकरण र सुद्धिकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो।
महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।