काठमाडौं ।आज नेपाली नयाँ वर्षको पहिलो दिन । आजदेखि २०८० सुरु भएको छ । २०७९ मा नेपालमा थुप्रै परिवर्तन भएका छन् । नेपालले २०७९ सालमै दुई दुईवटा निर्वाचन सम्पन्न ग¥यो । वैशाख ३० गते स्थानीय तहको र मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन भएर देशले नयाँ जनप्रतिनिधि पायो । यो पटकको दुवै निर्वाचनमा राजनीतिक दलहरू गठबन्धन गरेर चुनावमा गए । हुन त नेपालको राजनीतिमा निकै पहिलेदेखि नै गठबन्धन र मोर्चाबन्दीको चलन छ ।
राणा विरोधी आन्दोलन होस् या पञ्चायत विरोधी आन्दोलन होस् । दलहरू गठबन्धन बनाएर त्यसको विरुद्धमा आन्दोलन गरेको थुप्रै उदाहरण छन् । तर पछिल्लो समयमा बनेका विभिन्न गठबन्धनले चुनाव लड्नेदेखि लिएर सरकार बनाउनमा मात्र सीमित भएको छ ।
ठुला, साना सबै दलले मिलेर बनाएका गठबन्धनले देशलाई बन्धक बनाएको टिप्पणी भइरहेको छ । २०७८ को असारमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन चार दल (काँग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा)को गठबन्धनको यात्रा सुरु भयो । सोही गठबन्धनले निरन्तरता पाएपछि २०७९ सालभर नेपालको राजनीतिलाई बन्धक बनाएर राख्यो ।
काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बेला २०७९ वैशाख १ गते प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय (काँग्रेस, माओवादी, जसपा, नेकपा (एस) र राष्ट्रिय जनमोर्चा)गठबन्धनको बैठक बसेको थियो । २०७९ नयाँ वर्षको पहिलो दिन बालुवाटारमा गठबन्धनको बैठक बसेर सुरुवात गरेपछि त्यो वर्षभर त्यसकै रजगज रह्यो ।
चुनावपछि आलोपालो सरकार बनाउँदा पहिलो चरणमा सत्ता गठबन्धनबाट शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने कि प्रचण्ड त्यसमा विवाद उत्पन्न भयो । त्यसमा काँग्रेस पहिलो चरणमा प्रधानमन्त्री र राष्ट्रपतिको दाबीबाट टसमस नभएपछि प्रचण्डले एमालेसँग हात मिलाउनुभयो । सर्वाधिक बहुमतका साथ एमाले–माओवादी गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभयो ।
गठबन्धनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दबदबा रह्यो । जब राष्ट्रपतिको कुरा आयो, प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति हुनुपर्ने अडान राख्नुभयो । प्रधानमन्त्री प्रचण्डले संसद्मा पुस २६ गते विश्वास मत लिँदा काँग्रेसले पनि समर्थन जनायो । यसलाई एमालेले शंकाको दृष्टिले हेरेको थियो । अन्ततः राष्ट्रपतिको निर्वाचन एमाले–माओवादी गठबन्धन टुट्यो । यसरी राजनीतिक दलहरू २०७९ मा गठबन्धन बनाउन र भत्काउनमै रमाए ।
सरकार गठनको एक सय दिनमा पनि मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । राजनीतिक विश्लेषक मुमाराम खनाल धेरै दलहरू सरकारमा रहेकाले यसले डेलिभरी गर्नेमा कसैलाई विश्वास नरहेको बताउनुहुन्छ । उहाँले ०७९ सालमा तिनै तहको निर्वाचन सम्पन्न भएकाले कानुनी आधार भने खडा गरेको बताउनुभएको छ । समग्रमा २०७९ मिश्रित वर्षका रुपमा रहेको उहाँको भनाई छ ।
यता न्यायालयको ६७ वर्षे इतिहासमा २०७९ साल पहिलो यस्तो वर्ष हो जुनको नेतृत्व कायममुकायम प्रधानन्यायाधीशको भरमा सकियो। २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कायममुकायम प्रधानन्यायाधीशका रूपमा वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले अहिलेसम्म कार्यभार सम्हाल्दै आउनु भएको छ। ०७९ सालको पुरै वर्ष न्यायालय प्रधानन्यायाधीश विहीन चल्यो । जसले गर्दा न्याय सम्पादनमा कठिनाइ भइरहेको छ ।
लामो समयसम्म न्यायालयलाई नेतृत्वविहीन राख्न नहुनेमा चौतर्फी आवाज उठ्दा पनि प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । अधिवक्ता टीकाराम भट्टराई अब यो विषयले गति लिएकाले नयाँ वर्षको पहिलो महिनामै देशले प्रधानन्यायाधीश पाउनेमा विश्वास व्यक्त गर्नुहुन्छ ।
ज्योतिषशास्त्रका अनुसार यो वर्ष २०८० साल गत वर्ष भन्दा शुभ रहने छ। यो वर्षको प्रारम्भमा पञ्चागंको पहिलो पेजमा हेर्दा वर्षको राजाको रुपमा बुधग्रह र मन्त्रीको रुपमा शुक्रग्रहले लिएकाले शुभ रहने ज्योतिष सूर्यचन्द्र रिजाल बताउनुहुन्छ ।
आर्थिक दृष्टिबाट भने २०७९ साल चरम निराशाको वर्ष रह्यो । यसमा पनि सरकारका कारण अर्थतन्त्रमा बढी धक्का लाग्यो । कोभिड—१९ ले शिथिल बनाएको अर्थतन्त्रलाई जगाउन भरथेग गर्नुपर्ने दायित्व सरकारले पूरा गरेन । सरकारका आर्थिक सूचकहरू केही समययता सुखद देखिँदैनन् । सरकारी ढुकुटीमा अहिले झन्डै साढे छ महिनाको वस्तु तथा आयात धान्न पुग्ने विदेशी मुद्रा रहेको बताइन्छ ।
जबकि मौद्रिक नीतिले कम्तीमा सात महिनाको आयात धान्न सक्ने अवस्थालाई सहज मान्ने गर्छ । गत वर्ष राजनीतिक दलहरू सरकार गठन र गठबन्धन बनाउने भत्काउने खेलमै रुमलिएकाले अर्थतन्त्र पनि चलायमान हुन सकेन । यसैले सुधारका लागि पनि मूलतः सरकार नै गम्भीर र अग्रसर हुनुपर्छ ।
सामाजिक विभेदविरुद्ध न्याय र समानताको पक्षमा, गरिबीका विरुद्ध रोजगारी र समृद्धिका पक्षमा, भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, विचलन, धोखाधडी र राष्ट्रघातका विरुद्ध निष्ठा, आदर्श, सांस्कृतिक मूल्यमान्यता र राष्ट्रियताको पक्षमा लाग्नु आजको आवश्यकता हो ।
बितेको वर्ष २०७९ मा भएका उपलब्धि जोगाउँदै र गल्ती सच्याउँदै जान सके पक्कै पनि यो वर्षमा उन्नति र समृद्धिको बाटो भेटिनेछ । जनसाधारणको हितलाई सर्वोपरि मानेर अगाडि बढ्न सबैलाई शक्ति र बुद्धि मिलोस् । नेपाली रेडियो नेटवर्क नयाँ वर्ष २०८० सालको हार्दिक शुभकामना व्यक्त गर्दछ ।