काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता भएको टिप्पणी गर्नुभएको छ। सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलाई यस्तो जवाफ फर्काउनु भएको हो ।
कोइरालाले लेख्नुभएको छ,‘कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो, जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैैपर्छ। अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो।दुबै सच्चिनु पर्छ।’
महानगरलाई सहयोग नगरेको भन्दै असन्तुष्ट रहेका मेयर बालेनले सिंहदरबार र राजधानी अर्कै पालिकामा सार्न चुनौती दिनु भएको थियो । मेयर बालेनले आफूलाई सिंहदरबारले असहयोग गरेको भन्दै सिंहदरबार क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि एक सातायता फोहोर उठेको छैन ।
नेता कोइरालाले मेयर बालेनको त्यस्तो कदमलाई अराजकताको संज्ञा दिनु भएको छ ।