Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भयो : अर्थमन्त्री डा. महत

मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भयो : अर्थमन्त्री डा. महत

  • मंगलवार, चैत्र २८ २०७९

  • 259
    SHARES

  • मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भयो : अर्थमन्त्री डा. महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताउनुभएको छ । आज नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभइ उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । उहाँले मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

    निजी क्षेत्रले उत्पादनमुलुक उद्योग व्यवसायमा लगानी केन्द्रित गरे सरकारले लगानीको वातावरण सहज बनाउनको लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन उपायहरुको व्यवस्था गर्ने अर्थमन्त्री महतको भनाइ छ ।

    अर्थमन्त्री डा.महतले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका युद्धको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि ४ प्रतिशत भन्दा माथि हुने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय परिस्थिति राम्रो र युद्धको अन्त्य हुनसके नेपालको आर्थिक विकास, रुपान्तरण, पुँजी विकास र उद्योग व्यवसायमा लगानीका समस्या समाधान गरी अर्थतन्त्रमा सकारात्मक सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

    अर्थमन्त्री डा. महतले तत्कालका लागि सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्च गर्ने क्षमता प्रभावकारी बनाउने र साधरण खर्चलाई कम गर्नेमा रहेको बताउनुभयो । उहाँले सरकारले सामाजिक सुरक्षा ,शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गर्ने साधारण खर्च कम गर्न नसक्ने बताउनुभयो ।

    अर्थमन्त्री डा. महतले सरकारले पुँजीगत खर्चमा वृद्धि गरी बजारमा तरलताको सहजता बनाई आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले निजी क्षेत्रको लगानीबाट नै अर्थतन्त्र चलायमान हुने भन्दै सरकारले सहजकर्ताको भुमिका निर्वाह गर्ने बताउनुभयो ।

    अर्थमन्त्री महतले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले कोभिड–१९ पछिको अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिको कारणले केही समस्या आएको भन्दै यसलाई फुकाउने समय भएको बताउनुभयो ।

    अर्थमन्त्री डा. महतले मौद्रिक नीतिमार्फत आयात रोकेका कारण राजश्वमा दबाब तथा बैंकको ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रेको बताउनुभयो । उहाँले सबै समस्याको समाधान गर्न राष्ट्र बैंकको मौद्रिक नीतिमा समिक्षा, निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर परिवर्तनका लागि राष्ट्र बैंकसँग आन्तरिक छलफलमा रहेको बताउनुभयो ।

    अर्थमन्त्री डा. महतले घरजग्गाको कित्ताकाट सहज बनाउन पनि छलफल भइरहेको उल्लेख गर्नुभयो । उहाँले घरजग्गाको कित्ताकाट सहज बजाउँदा मात्रै पनि बजार सहज हुने बताउनुभयो ।


    मंगलवार, चैत्र २८ २०७९०२:४२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij