काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र संकटमा नरहेको बताउनु भएको छ। प्रधानमन्त्री प्रचण्डले आज काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष ०८०, ८१ को नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक रुपमा ल्याउन लागिएको बताउनुभएको छ ।
उहाँले परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट देशको समृद्धि सम्भव नहुने कुरामा सरकार स्पष्ट भएको बताउनुभयो। उहाँले भविष्यमा आउने सरकारले समेत प्रेरणा लिन सक्नेगरी बजेट र योजनाहरु तर्जुमा गरिने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको सय दिनमा अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएको बताउनुभयो। उहाँले देशको अर्थतन्त्रमा धेरै संकट नदेखिएको बताउनुभयो ।
उहाँले दश महिनालाई पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको उल्लेख गर्दै यसलाई सकारात्मक र उत्साहप्रदक स्थितिको रुपमा लिनुपर्ने भन्दै बैंकको ब्याजदर घटाउनको निम्ति पनि आफूले प्रयास गरिरहेको बताउनुभयो ।
उहाँले सरकार र नीजि क्षेत्रले उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।