काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई पुर्णता पाउन सकस परिरहेको छ। विशेषगरि कांग्रेस भित्रको आन्तरिक विवादले गर्दा सरकार पुर्ण बन्न नसकेको हो ।पछिल्लोपटक मन्त्रिपरिषद् पुनर्गठन भएको पनि एक हप्ता नाघिसकेको छ। प्रधानमन्त्री प्रचण्डले चैत १७ गते शुक्रबार पछिल्लोपटक मन्त्रीपरिषद् विस्तार गर्नुभएको थियो ।
नेपाली कांग्रेसको शेखर पक्षले असन्तुष्टि जनाएपछि कांग्रेसले पाउने ४ मन्त्रालयमा मन्त्री पठाउन बाँकी रहेको हो । पहिलो चरणमा कांग्रेसबाट ४ जना मन्त्री बन्नुभएको छ ।पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो ।
नेपाली कांग्रेसका नेता नैनसिंह महरले भोलिसम्म मन्त्रीमण्डलले पूर्णता पाउने बताउनुभएको छ । ‘पछिल्लो पटक कांग्रेसमा मन्त्री पठाउने विषयमा सामान्य समस्या आएको तर कांग्रेसले छिटै मन्त्री पठाउने महरको भनाई छ ।कांग्रेस संसदको ठूलो पार्टी मात्र नभएर यसमा लामो समय राजनीति गरेका व्यक्तित्व भएकाले अहिले चर्चामा आइरहेका नामकै वरिपरि रहेर मन्त्री पठाइने पनि महरको तर्क छ ।
सत्तारुढ गठबन्धनविरुद्ध प्रमुख विपक्षी दलका नेताहरूले गठबन्धनको उपहास गर्नेदेखि वर्तमान सरकारले देशका समस्या समाधान नगर्नेसम्मका आरोप लगाइरहेका छन् । अर्कातिर, यति लामो समयसम्म मन्त्रीपरिषद्ले पुर्णता नपाउदा विपक्षीहरूको आरोप पुष्टि पनि हुँदै गएको छ ।नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले राजनीतिक अस्थिरताले गर्दा मुलुक झनै समस्यामा परेको टिप्पणी गर्नुभएको छ । बाँस्कोटाले अहिलेको गठबन्धन चारदेखि ६ महिनासम्म मात्रै टिक्ने दाबी समेत गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डसँगै अझै कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेको छ । अहिलेसम्म मन्त्रिपरिषद् १८ सदस्यीय छ । अझै सात सदस्यको नियुक्ति हुन बाँकी छ ।सरकारबाट जनताले खासै ठूलो अपेक्षा गरेको त देखिँदैन । तर, मन्त्रिपरिषद्ले बेलैमा पूर्णता पाओस् र सरकार आफ्नो नियमित कामकाजमा लागोस् भन्ने चाहना भने पक्कै रहेको छ ।