काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्नुभएको छ।आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले पार्टी परित्याग गरेको औपचारिक घोषणा गर्नुभएको हो। पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेकपा (एकीकृत समाजवादी) ले परिचय दिएपनि पहिचान दिन नसकेको आरोप लगाउनु भयो।
उहाँले एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको आरोप लगाउनु भयो। उहाँले सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गर्नुभयो ।
उहाँले भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण कुरा हो भन्ने सोचेर आफूले पार्टी परित्याग गरेको घोषणा गर्नुभयो। उहाँले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताउनुभयो।
उहाँले एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबीसमेत गर्नुभयो। नेता न्यौपानेले सांसद भएकाहरूलाई नौ—नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नजाने दाबी गर्नुभयो।