काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडकपेटी मिचेर प्रहरीले नै संरचना बनाएको भन्दै हटाउन आग्रह गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा महानगर क्षेत्रमा सडक मिचेर बनाइएका प्रहरी बिटका तस्बिरहरू पोष्ट गर्दै उहाँले हटाउन आग्रह गर्नुभएको हो ।
सो संरचना नहटाइए कानूनको प्रयोग गरी भत्काइने चेतावनीसमेत बालेनले दिनु भयो। 'कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैंले हटाउनुहोला', उहाँले थप्नुभयो,'नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।'
उहाँले फुटपाथ मान्छे हिंड्नको लागि प्रयोग गर्नुपर्ने भएर नै त्यहाँका व्यापारमा रोक लगाएको पनि उल्लेख गर्नुभयो । राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि आफूहरुले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेको उहाँले जनाउनुभएको छ ।