काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न नसकिने बताउनुभएको छ।आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले कार्यकर्ता भर्तीकेन्द्र मात्रै भएकाले प्रदेश सरकारको औचित्य नरहेको बताउनु भएको हो ।
उहाँले प्रदेशका नाममा पाँच वर्षमा करिब १६ खर्ब बजेट खर्च भएको बताउँदै त्यो पैसाले लाखौंलाई रोजगार बनाउने गरी रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो।
‘प्रदेश दुई कारणले मात्रै आवश्यक छ। एउटा पहिचानका लागि र अर्को देश ठूलो भयो भने देशलाई केन्द्रीकरण गर्नका लागि चाहिन्छ।संघीयता काहीँ नअटाएका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो। यसरी विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन,’ उहाँले भन्नुभयो।
सांसद शाहीले सरकाले विदेशबाट ऋण ल्याइरहेपनि हरेक दिन बेरोजगारीको संख्या बढिरहेको बताउनुभयो। हालका प्रधानमन्त्री र यसअघिका प्रधानमन्त्रीहरूलाई विदेशबाट ल्याएको ऋणको हिसाबकिताब देखाउनुपर्ने उहाँको चुनौती छ।
‘त्यो पैसा कहाँ गयो ? एकएक हिसाबकिताब अहिलेको प्रधानमन्त्री र आजसम्म भएका प्रधानमन्त्रीले जवाफ दिनुपर्छ,’ शाहीले भन्नुभयो ।